August 8, 2021, Sun, 07:08:21
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
गुरूवर दीप्तजङ्ग सिंजापतिं
गुरूवर दीप्तजङ्ग सिंजापतिं
गुरूवर दीप्तजङ्ग सिंजापतिं
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-08
गुरूवर दीप्तजङ्ग सिंजापतिं

Shree Navatan Dham (SND)

दीप्तजङ्ग सिजापति एक सम्पन्न परिवारमा जन्मिनु भएको क्थियो । बलवान समयले ठूलो परिवर्तन ल्याइदियो । उहाँले बाल्यावस्थामा नै आफ्ना माता पिता गुमाउनु भयो । उहाँको पिताजी झाडा वान्ता लागेर बित्नु भयो । त्यसबेला अहिलेको जस्तो औषधि सती उपचारको सुविधा थिएन । माता पिताको देहान्त पछि उहाँको पैत्रिक सम्पत्ति पनि अरूले नै हडप गरे । उहाँ र उहाँकी दिदी टुहुरा भए | दीप्तजङ्गकी दिदीको उमेर पुगेपछि उनको विवाह मावलीले गराइदिए । एउटी छोरी जन्मेपछि उनका पतिको पनि मृत्यु भयो । विधवा बनेकी दिदी आफ्नो भाइ दीप्तजङ्गसङ्गै बस्न आइन्‌ । उहाँ दिदीसँगै आफ्ना मामा पर्ने दीर्घराज खत्रीको शरणमा पुग्नुभयो । मामा दीर्घराज एक प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । तात्कालिन राणा शासनमा उहाँ आर्मी तर्फको नायब सुब्बासम्म हुनुभयो । ना.सु. दीर्घराजले आफ्ना भानिज दीप्तजङ्गलाई अलिकति बारी र खेत कमाउन दिएर एउदा सानो एकनाले घर बनाएर आफ्नो कोटेश्वरको घर नजिक बस्ने प्रबन्ध मिलाइ दिनुभयो । दीप्तजङ्गको उमेर पुगेपछि उहाँलाई जङ्गी अड्डामा जागिर पनि मिलाइ दिनुभयो । यसरी मामाको सहायताबाट दीप्तजङ्ग सिजापतिको गुजारा चल्न थाल्यो ।

जागिरे अवस्थामा रहँदा दीप्तजङ्ग प्रतिदिन कोटेश्वरबाट हिँडेर सुनधारा नजिकको जङ्गी अड्डामा पुग्नुहुन्थ्यो । त्यत्तिखेर काठमाडौंमा सवारीका साधन थिएनन्‌ । राणा र शाह खलकले मात्र कहिले काँही मोटर गाडी चढेको देखिन्थ्यो । बिजुली अड्डाका लरी भने यता उता गर्थे । सरकारी जागिरमा रहेकै बेलादेखि दीप्तजङ्गमा आध्यात्मिक चेतनाको स्फूरण भयो । उहाँ जागिरको समयपछि सत्संग गर्न थाल्नुभयो । जहाँ जहाँ भागवत कथा, कोर्तन, भजन, प्रवचन हुन्थे त्यहाँ त्यहाँ उहाँ जसरी पनि पुग्नु हुन्थ्यो । ‘घर आइपुग्दा रात पर्थ्यो । टुँडिखेल, सुनधारादेखि कोटेश्वरसम्मको बाटोमा बानेश्वर व्यारेक (हालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)सम्म कच्चा सडक थियो तैपनि बाटो दिउसै सुनसान हुन्थ्यो । वानेश्वर व्यारेकदेखि कोटेश्वरसम्मको बाटो भने गोरेये मात्र थियो । बीचमा बाग्मति नदी तर्नु पर्दथ्यो । वर्षाकालमा त्यो बाटो हिँडी नसक्नु हुन्थ्यो । बाढी आएको खोलो तर्नु र घुँडासम्म आउने हिलो बाटो पार गर्नु अत्यन्त कठिन थियो । यस्तो परिस्थितिलाई पनि झेल्दै उहाँ सत्संग गरेर राति राति फर्कनु हुन्थ्यो ।

यस्तो सत्संगको सिलसिलामा उहाँ एक दिन प्रणामी विद्वान्‌ पं, कमलप्रसाद आचार्यले गराउनु भएको पारायणमा पुग्नुभयो । पण्डितजीको प्रवचन केही दिन सुनेपछि उहाँलाई आफूले खोजेको अखण्ड वस्तु पाएजस्तो लाग्यो । दीप्तजङ्गजीले पं. कमलप्रसाद आचार्यलाई गुरु थापेर उहाँबाट तारतम मन्त्रको दीक्षा लिनुभयो । त्यसपछि गुरु कमल प्रसादजी कोटेश्वरको उहाँको सानो झुपडीमा आउने गर्न थाल्नुभयो । गुरु चेलाको यसरी बारम्बार मिलन हुँदा दीप्तजङ्गजीले तारतम सागर ग्रन्थको अध्ययन गर्न पाउनुभयो । उहाँले स्वाध्यायनलाई बढाउँदै लानुभयो ।

हुँदा हुँदा कोटेश्वरको त्यो सानो कृटी सत्संगको केन्द्र नै बन्यो । त्यहाँ प्रणामी समाजका ठूला ठूला साधु सन्तहरूको आगमन हुन थाल्यो । चर्चा वार्ता सुन्न केही ग्रामीण व्यक्ति पनि सरिक हुन थाले । त्यस कुटीमा आवत जावत गर्नेमा पं. कमलप्रसाद आचार्य, महात्मा युगलदासजी महाराज, पूर्णब्रह्म शास्त्री, पं. कमलकृष्ण, साधु खड्गदास आदि प्रमुख हुनुहुन्थ्यो । उहाँहरूले दिएका उपदेशबाट कोटेश्वर निवासीमा प्रणामी धर्मको प्रभाव पर्दै गयो । दीप्तजङ्ग सिजापतिज्यूबाट धेरै मानिसको जागृति भयो । बेला-बेलामा मेला, पर्व मनाइन थाल्यो । कोटेश्वरमा आनन्द र उमङ्गको वातावरण पैदा भयो ।

गुरुवर दीप्तजङ्ग सिजापति अत्यन्त मिलनसार मृदुभाषी, देशकाल परिस्थिति अनुसार बोल्ने, ब्रह्वाचिन्तनमा हरदम मग्न रहने, सामान्य जीवनमा उच्च विचार राख्ने व्यक्ति हुनुहुन्थ्यो । आफू दीनहीन अवस्थामा रहे पनि उहाँ साधु, सन्तको आतिथ्यमा कुनै कमी आउन दिनुहुन्नथ्यो । उहाँले एकपल्ट गुजरात, जामनगर स्थित श्री कृष्ण प्रणामी धर्मको आद्य पीठ श्री ५ नवतनपुरीधामको भ्रमण गर्नुभयो । भारत भ्रमणमा उहाँले धेरै साधु, सन्त एवं विद्वान्‌सँग सत्संग गर्न पाउनुभयो । उहाँले भेटेका विद्वान्‌ प्रोफेसर मातावदल जायसवालको उहाँ भूरी भूरी प्रशंसा गर्नुहुन्थ्यो । उहाँले नवतनपुरीको अलावा, सुरत एवं पन्ना धामको पनि भ्रमण गर्नुभयो । नेपाल फर्केपछि उहाँ श्रीकृष्ण प्रणामी धर्मको प्रचारमै लाग्नुभयो ।

उहाँ सत्संग गर्न आउनेलाई श्री देवचन्द्र महाराज, स्वामी प्राणनाथजी एवं महाराजा छत्रसाल आदिको जीवनी र योगदानबारे चर्चा गरी सुनाउनु हुन्थ्यो । उहाँको कुटीमा प्रतिदिन बिहान बेलुकाको आरतीमा भक्तजन जम्मा हुन्थे। समय समयमा विराट पट दर्शन र चर्चनीका प्रसङ्ग उठ्दथे। उहाँका गुरु पं. कमलदासजी त्यहाँ आउनु हुँदा भक्तिमय वातावरण बन्दथ्यो । कमलदासजीले जिज्चासुका प्रश्नको समाधान गरीदिनु हुन्थ्यो।

यसरी बाल्यावस्थादेखि नै अनेकौं हण्डर, दख्खल खाएर, ज्यूँ त्यूँ जीवन धानेका, प्रणामी धर्मप्रति अगाध श्रद्धा र विश्वास भएका, आर्तजनको दुःख र कष्ट देख्न नसक्ने, परोपकारी, अत्यन्त सहनशील दीप्तजङ्ग सिजापतिजी श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा मृत्यु पर्यन्त लाग्नुभयो । उहाँले आफ्नो संसारी लीला वि.सं. २०४३ साल चैत्र १९ गते, चैत्रशुक्ल चतुर्थीका दिन संवरण गर्नुभयो । पछि उहाँको त्यही कुटीमा बसेर सन्त शिरोमणि मोहन मुकुन्दले तारतम सागरका कतिपय ग्रन्थको शब्दार्थ लेख्ने कामको श्रीगणेश गर्नुभयो । गुरुवर दीप्तजङ्ग सिजापतिले स्थापना गर्नुभएको त्यो सानो कुटीमा कति मानिसको आत्म कल्याण भयो, कति नेपालीको त्यहाँ बसेर लेखिएको तारतम सागरको शब्दार्थले आत्मदृष्टि खुलायो त्यो शब्दद्वारा वर्णन गर्न सकिँदैन ।
Enable Notifications    Subscribe No thanks