August 28, 2021, Sat, 31:08:44
By लक्ष्मण सत्याल, काठमाडौं, (SND)
धाममा गयौ मोहन म्रुकुन्द
धाममा गयौ मोहन म्रुकुन्द
धाममा गयौ मोहन म्रुकुन्द
By लक्ष्मण सत्याल, काठमाडौं, (SND)
2021-08-28
Shree Navatan Dham (SND)
मोहन मुकुन्द तिमी धाम गयौ कसोरी,
छोडेर हामी सबलाई रती नसोधी ।
आएर शास्त्रहरूका हरदम कुरा गरी,
हथ्यौं नि दुःख अब छैन कुनै तिमी सरी ॥ १ ॥
माधुर्यभाव तिमीमा बहुतै थियो नि,
ऐले सबै गुणहरू ती कता गए नि।
छोडेर हामी सबलाई कता गयौ नि,
स्वप्ना भनौं कि अथवा विपना भनौ नि॥ २॥
भन्छन् सबै जगत यो सपना सरीको,
संसारका सकल वस्तु त नाशिने हो ।
तस्मात् नगर्नु जनले यसमा विषाद,
सत्शास्त्रका सकल मर्महरू विचार ॥ ३॥
जति सुके शास्त्रहरू पढे पनि,
जति सुके सङ्गत नै गरे पनि ।
जति सुकै तीर्थहरू घुमे पनि,
जति सुकै दानहरू गरे पनि ॥ ४ ॥
जति सुकै गेरुहरू धरे पनि,
जति सुकै पण्डित नै भए पनि ।
जति सुकै योगहरू गरे पनि,
चिनिन्न लौ सन्त कसै गरे पनि ॥ ५ ॥
के गर्नु हा दैव विति सकि गो,
नजानिदो रेछ कुरा पछिको ।
घुम्छौ सधै नित्य नयन्वरि परि,
विर्सन्न त्यो रूप कसै गरे हरि ॥ ६ ॥
बिर्सी नसक्नु छ मुहार तिम्रो,
शैली छ त्यस्तै अधिकै त राम्रो ।
जतासुके नाम सुनिन्छ गाको,
भारत र नेपाल प्रसिद्ध भाको ॥ ७ ॥
तिम्रा यी सारा गुणले गरेर,
लिन्छन् नि यो चित्त सबै हरेर ।
सम्झन्न भन्छु झन सम्झना हुने,
तिमी विना यो मन झन सधैं रुने ॥ ८ ॥
माछो विना पानी सरी बनेर,
बस्छु म हर्दम मनमा गुनेर ।
चरक्क चर्कर चिरिन्छ छाती,
सम्झन्छु जत्ति गुणहेरू जाती ॥ ९ ॥
परोपकारै सरी पुण्य अर्को,
हुँदैन भन्थ्यौ नि नमानी भर्को ।
दुःखीहरूको उपकार गर्दा,
हर्छन सबै ईश्वर दुःख दर्द ॥ १०॥
ईश्वर खुशी हुन्छ भनेर भन्थ्यौ,
हर्दम अरूको उपकार गर्थ्यौं ।
यस्ता थियौ सत्वगुणी महात्मा,
देखिन्न ऐले नि तिमी जगत्मा ॥ ११ ॥
तिम्रा सबै कीर्ति यथावतै छन्,
राम्रा कुरा नित्य घुमीरहन्छन् ।
यी पञ्चतत्वैहरूले बनेको,
शरीर लौ छैन अघिसरी को ॥ १२ ॥
नाश हुन्छ कुन वस्तु न नाशिने को,
देखिन्छ जुन वस्तु त नाशिने त्यो ।
देखिन्न जुन वस्तु न नाशिने हो,
भनेर भन्छन् गुणीहेरू यस्तो ॥ १३ ॥
देखिन्छ जुन मानवको शरीर,
नाश हुन्छ त्यो आखिरमा गएर ।
नाशिन्न कैल्यै घटमा रहेको,
आत्मा भनी नाम प्रसिद्ध भाको ॥ १४ ॥
मर्दैन आत्मा त कसै गरे नि,
गल्दैन लौ त्यो जलमा परे नि ।
पोलिन्न त्यो अग्निविषे धरे नि,
शोषिन्न जस्तै भूमरी परे नि॥ १५ ॥
आगो र पानी अनि वायु तत्त्व,
पृथ्वी र आकाश भइ समस्त ।
शुभाशुभै कर्म सबै मिलेर,
मनुष्यको स्थूल शरीर बन्छ ॥ १६ ॥
जन्मन्छ कैले कहिले त मर्छ,
घट्नु र बढ्नु त भइरहन्छ।
सारा विकारैहरूले त युक्त,
भोगादि भोग्ना कनका निमित्त ॥ १७ ॥
पाएर यस्तो मनुजावतार,
कर्तव्य गर्ने मनमा विचार ।
कर्तव्य छोडे त हुने विनाश,
अहो पछि ता सब सर्वनाश ॥ १८ ॥
भई अपञ्चिकृत पञ्चभूत,
दुःखादि भोग्ना कनका निमित्त ।
ज्ञानेन्द्रियै पञ्चहरू मिलेर,
कर्मेन्द्रियैले परिपूर्ण हेर ॥ १९ ॥
बुद्धि र मनले सहितै भएर,
प्राणादि पञ्चैहरूले मिलेर ।
मनुष्यको सूक्ष्म शरीर बन्छ,
भोगादि सारा यसले त भोग्छ॥ २० ॥
यी सत्र तत्वैहरूले बनेको,
मनुष्यको भित्र सदा रहेको ।
मृत्यु हुँदामा त अलग्ग हुन्छ,
अत्यन्त सूक्ष्म त भइरहन्छ॥ २१ ॥
प्रपञ्च गर्ने जगदीश्वरै हो,
लीला त सारा जगमा उसैको ।
उसकै भए मात्र कृपा कटक्ष,
पाइन्छ यो मानवको स्वरूप ॥ २२ ॥
सत्कार्य गर्ना कनका निमित्त,
बक्स्यो प्रभुले त अखण्डरूप ।
अज्ञानका कारणले गरेर,
सारा प्रपञ्चैहरूमा परेर ॥ २३ ॥
जीवात्म कुन हो परमात्म कुन हो,
भन्ने पनि ज्ञान सबै भुलि गो।
संसारका चक्करमा परि गो,
भोगादि भोग्ने विषयी बनी गो॥ २४ ॥
सिपी विषे चाँदी भनेर खूप,
मरुस्थलीमा जलको त रूप।
देखेर दौडन्छ जतासुकै तर,
ज्ञानै विना शून्य भई निरन्तर ॥ २५ ॥
जस्तो गरी रात्रि विषे रहेको,
डोरी विषे सर्प भनी कहेको ।
बालेर बत्ती कन हेर्न जान्छ,
देखिन्छ डोरी सब भ्रान्ति भाग्छ॥ २६ ॥
नाशिन्न भ्रान्ति जबसम्म मन्को,
देखिन्छ संसार विभिन्न रङको ।
हटेर भ्रान्ति मन हुन्छ स्वच्छ,
आउँछ शान्ति बहुतै पवित्र ॥ २७ ॥
भएन शान्ति मनमा भने त,
के गर्नु सम्पत्ति भई अनन्त ।
थोरै छ सम्पत्ति भने पनि त,
खुब हुन्छ शान्ति मनमा भए त॥ २० ॥
कान्ति विनाको त जवानी व्यर्थ,
प्रेमै विना सादर हुन्छ व्यर्थ ।
तीर्खा विना हुन्छ नदी त व्यर्थ,
ज्ञानै विना मानव हुन्छ व्यर्थ ॥ २९ ॥
कारण शरीर हुन्छ विचित्रको नि,
वीजै त हो स्थूल शरीरको नि ।
त्यस्तै गरी सूक्ष्म शरीरको नि,
वीजमात्र हो आखिरमा त यो नि॥ ३० ॥
जसो गरी वृक्ष बनाउनामा,
वीजै छ लौ कारण यो कुरामा ।
तथापि वातावरण त शून्य,
हुँदैन लौ वृक्ष अहो नि धन्य ॥ ३१ ॥
वीजै अभिव्यक्त भए पछि नि,
उम्रन्छ लौ वृक्ष जसो गरे नि।
त्यस्तै गरी कारण यो शरीर,
हुँदा अभिव्यक्त बनेर धीर॥ ३२ ॥
बन्छन् दुवै सूक्ष्म शरीर स्थूल,
भोगादि गर्ने त भएर मूल ।
नभै अभिव्यक्त यसै रहेमा,
जाँदैन कैल्यै परिपूर्णतामा ॥ ३३ ॥
यस्तो बुझी मर्म शरीरको यो,
कार्यादि सारा सब चेतनाको ।
उही हुँदा मात्र शरीर चल्ने,
विना उही यो त शरीर ढल्ने ॥ ३४ ॥
सृष्टि स्थिति पालनमा तयार,
उनै प्रभुमा छ समस्त सार ।
उन्कै कृपाले सब विश्व बन्छ,
आखिरमा नष्ट भएर जान्छ॥ ३५ ॥
जस्तो सुकै सुन्दर स्वच्छ रूप, ं
पाए पनि मानवको स्वरूप ।
भएन चैतन्य यदि भने त,
अपूर्ण नै हुन्छ यहाँ समस्त ॥ ३६ ॥
मोहन मुकुन्द तिमीलाई छुँदै छुँदैन,
सारा प्रपञ्च तिमीमाथि हुँदै हुँदैन ।
निश्चिन्त भै अब त धाम विषे गएर,
बस्नु सदैव प्रभुमा मन सुम्पिएर ॥ ३७ ॥